को हुन् प्रचण्ड ? छविलालदेखि प्रचण्डसम्मको जीवन यात्रा WATCH VIDEO NEWS

5:18 AM



मिडिया एनपी,काठमाडौं, १८ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालका ३९ औं प्रधानमन्त्री बन्ने निश्चितप्रायः छ ।

बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गराएका प्रचण्ड को हुन् त ? दश वर्षे सशस्त्र युद्ध पश्चात खुला राजनीतिमा आएको १० वर्षको अवधिमा दुई पटक प्रधानमन्त्री हुने अवसर प्राप्त गरेका प्रचण्डको पारिवारिक, शैक्षिक, राजनैतिक पृष्ठभूमिका बारेमा सबैलाई जिज्ञासा हुनु स्वभाविककै हो ।

राजनीतिमा प्रवेश

वि.सं. २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यता बाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गरेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए ।

उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भए । उनी वि. सं. २०३८ मा क्षेत्रीय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महा–सचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका हुन् ।

वि.सं २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका प्रचण्ड २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री बन्न सफल भए ।

यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेस्रो विस्तारित बैठकले पार्टीको नाम फेरेर नेकपा (माओवादी) राख्यो । नेकपा माओवादीको महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष समेत बन्न सफल भए ।

वि.सं. २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका प्रचण्ड २०६३ साल असार २ गते प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौमा भूमिगत जीवनबाट सार्वजनिक भएका हुन् ।

२०६९ सालमा वृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष समेत बनेका प्रचण्डले २०६९ सालमा हेटौंडामा भएको राष्ट्रिय सम्मेलन, २०७० सालमा विराटनगरमा भएको एकताको महाधिवेशनबाट आफूलाई अध्यक्ष पदमा निर्वाचित गराउन सफल भएका हुन् । पटक पटक भएका पार्टीका महाधिवेशनबाट आफूलाई अध्यक्षमा चयन गराउन सफल भएका प्रचण्ड नेपालको राजनीतिमा निर्णायक तहमा रहेका छन् ।

सार्वजनिक जीवनमा आएसँगै २०६४ साल चैतमा भएको संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो नम्बरमा पुर्याएर प्रचण्ड २०६५ सालमा गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्न सक्षम भए । तर, राजनीतिमा आएको उतारचढापका कारण नौ महिनामै सरकारबाट बाहिरिनु परेको थियो ।

२०७० मंसीरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएका प्रचण्ड नेतृत्वको पार्टी एकीकृत नेकपा माओवादी भने यस पटक तेस्रो दलका खुम्चिन पुग्यो । यद्यपी हाल उनै प्रचण्ड मुलुकको प्रधानमन्त्री हुने भएका छन् । यसको अन्तिम टुंगो बुधबार लाग्दैछ । हालसम्मको राजनीतिक अवस्था नियाल्दा उनलाई दोस्रो पटक प्रधानमन्त्री हुनबाट रोक्ने कुनै अवस्था छैन ।

जन्म

वि.स. २०११ साल मंसीर २६ गते कास्कीको ढिकुरपोखरी–२ लेवाडेमा जन्मिएका प्रचण्ड मुक्तिराम दाहाल र भवानी दाहालका जेठो छोरा हुन् ।
शिक्षा

प्रारम्भिक शिक्षा ढिकुरपोखरीमा नै लिएका प्रचण्ड २०२६ सालमा चितवनको नारायणी विद्या मन्दिर माध्यामिक विद्यालय शिवनगरबाट प्रवेशिक (एसएलसी) उत्तीर्ण भएका थिए ।

यसपछि उच्च शिक्षा हासिल गर्न काठमाडौं छिरेका उनले २०२९ सालमा पाटन बहुमुखी क्याम्पसबाट आई.एस.सी पूरा गरेका थिए । काठमाडौंबाट फेरि अध्ययनकै लागि उनी चितवन फर्किए । वि.सं. २०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बि.एस्सी उतीर्ण गरेका प्रचण्डले एम.पी.ए.सम्मको अध्ययन पूरा गरेका छन् ।

छविलालदेखि प्रचण्डसम्म

हाल प्रचण्डले चिनिएका पुष्पकमल दाहालको पहिलो नाम ‘छविलाल’ थियो । कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहालबाट पुष्पकमल दाहाल नामाकरण गरिएका प्रचण्डले भूमिगत अवस्थामा नाम परिवर्तन गरिरहे । पुष्पकमल दाहालको वि.सं. २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण हुँदै प्रचण्ड नाम रहेको थियो । हाल उनी प्रचण्ड नामले चर्चित छन् । साथै उनी पनि आफूलाई ‘प्रचण्ड’ भन्न रुचाउँछन् ।

विवाह

कास्कीको ढिकुरपोखरीबाट प्रचण्डको परिवार २०१९ सालमा चितवन भरतपुरस्थित शिवनगरमा बसाईं सरेका थिए । चितवन आएपछि उनको विवाह भएको हो । वि.सं. २०२६ वैशाखमा सीता पौडेलसँग प्रचण्डको विवाह भएको हो । उनको तीन छोरी र एक छोरा छन् ।

पेशा

हाल मुलुकको दोस्रो प्रधानमन्त्री हुन लागेका प्रचण्डले अध्यापन पेशा समेत गरेका थिए । नारायणी विद्या मन्दिर मा.वि.शिवनगर–२०२९ साल, डण्डा मा.वि.नवलपरासी र भीमोदय मा.वि., आरुघाट, गोरखा–२०३३–०३५ सालमा अध्यापन पेशा अंगालेका प्रचण्डले २०३२ सालमा यु.एस.एड.मा सेवारत थिए ।

You Might Also Like

0 comments