प्रधानमन्त्रीको सपथ नखाँदै प्रचण्डलाई एमालेले दियो झट्का! रावलले भने- कुनै हालतमा मान्दैनौं READ MORE NEWS
5:38 PM
काठमाडौँ, १९ साउन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले नयाँ सत्ता गठबन्धनका लागि गरिएको संविधान संशोधनको प्रस्ताव आफूहरुलाई मान्य नहुने बताउनुभएको छ । व्यवस्थापिका–संसद्को बैठक परिसरमा पत्रकारसँग कुरा गर्दै रावलले वर्तमान संविधानलाई प्रतिगामी भन्ने मधेसी दलले प्रधानमन्त्रीको निर्वाचनका लागि मतदानमा सहभागी भइसकेपछि संविधान संशोधनको प्रस्तावको अर्थ नहुने पनि दाबी गर्नुभयो । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाबीच आज संविधान संशोधनलगायत तीनबुँदे सहमति भई प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाललाई समर्थन गर्ने उल्लेख छ । नेता रावलले प्रश्न गर्नुभयो, “केका लागि संविधान संशोधन गर्ने हो, त्यो स्पष्ट हुनुपर्यो । यो मुलुकलाई जातीय वा एक मधेस एक प्रदेशका आधारमा जाने हो भने त्यो हामीलाई मान्य छैन । जनताको स्वाभिमान र राष्ट्रिय स्वाधिनतामा खतरा उत्पन्न हुने गरी सत्ताको खेलका लागि यस्ता प्रस्ताव आएका छन् ।” उहाँले सेना र गुप्तचर निकायमा समेत समावेशीकरण हुने मुलुक नेपाल मात्र रहेको उल्लेख गर्दै नागरिकताका सवालमा पनि भारतमा भन्दा उदार व्यवस्था रहेकाले ती विषयमा पनि संविधान उपर्युक्त भएको बताउनुभयो ।
0 comments