डेढ महिना अघिदेखि सुकेटार विमानस्थल अवरुद्ध READ MORE NEWS
9:49 PMताप्लेजुङ । खराब मौसमकै कारण पर्यटकीय जिल्ला ताप्लेजुङस्थित सुकेटार विमानस्थल डेढ महिना अघिदेखि पूर्णरुपमा अवरुद्ध हुँदा हवाई यात्रु मारमा परेका छन् । वर्षात्को समयमा दिनहुँजसो हुस्सु लाग्ने भएकाले डेढ महिना अघिदेखिनै उडान पूर्णरुपमा बन्द हुँदा आन्तरिक तथा बाह्य पर्यटक हवाई यातायातबाट वञ्चित भएका छन् ।
विमानस्थल कालोपत्रे भएपछि नियमित उडान हुनेमा स्थानीय ढुक्क भए पनि हिमाली जिल्ला भएकाले मौसममा आइरहने खराबीका कारण नियमित नहुँदा उनीहरु मारमा परेका हुन् । गएको मङ्सिरमा कालोपत्रे गरेपछि पुसदेखि ताप्लेजुङ–काठमाडौँ सिधा उडान सञ्चालनमा आएको थियो । सो बेलादेखि नै बेलाबेलामा आउने मौसम खराबीका कारण उडान अवरुद्ध हुँदै आएकामा पछिल्लो डेढ महिनादेखि पूर्णरुपमै अवरुद्ध भएको हो
नियमित रुपमा उडानसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल देखिएपनि डेढ महिनादेखि उडान अवरुद्ध हुँदा चहलपहल हुन छाडेको छ । ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमका स्टेसन इन्चार्ज विकास राईका अनुसार मौसममा सुधार उडान सञ्चालमा ल्याइनेछ ।
गोमा एयरले साताको मङ्गलबार र शुक्रबार तथा तारा एयरले शुक्रबार उडान सञ्चालन गर्दै आएकामा अहिले पूर्णरुपमा नै बन्द भएका छन् । विशेष गरी कञ्चनजङ्घा हिमाल हेर्न आउने पर्यटक साथै प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आउने तीर्थालुलाई समस्या देखिएको छ । २०३१ सालदेखिनै नेपाल वायु सेवा निगमले विराटनगर–ताप्लेजुङ उडान सञ्चालन गर्दै आएको थियो ।
0 comments