कालीगण्डकीले ७६ रोपनी खेत बगायो READ MORE NEWS

8:15 PM



रामपुर (पाल्पा), १३ साउन – अविरल वर्षाले कालीगण्डकी नदीमा बाढी आउँदा नदी आसपासका ७६ रोपनी खेतमा ठूलो क्षति पुगेको छ। नदी आसपासमा रहेका खेतीयोग्य जमिन बाढीले पुरिँदा, बगाउँदा किसान चिन्तामा परेका छन्।

रामपुर नगरपालिका–१ स्थित तिलडाँडामा ४२ रोपनी, वडा नं १४ मा आठ रोपनी, वडा नं १५ मा १३ रोपनी र गजरकोटको गाडापानीमा १३ रोपनी खेतमा नदीले पूर्णरुपमा क्षति पु-याएको छ।

त्यस्तै, साँखरको बर्खेघाटका खेतमा नदीले कटान गरेको छ। एक्कासि नदीमा बाढी आएपछि खेतमा लगाएको रोपो सबै पुरिएको छ। “धान रोपेर हरियो नहुँदै बाढीले सबै खेती नोक्सान पु-यायो, वर्षदिन खाने खेती अब कसरी जीविका चलाउने भन्ने चिन्ताले सताएको छ” कृषक लक्ष्मण पन्तले भन्नुभयो।

उहाँलाई मात्रै होइन अर्का किसान ठाकुर पाण्डेलाई पनि बालबच्चा कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ। कालीनदीको बाढी खेतमा पसेर रोपोमा क्षति पुग्दा ठूलो नोक्सान बेहोर्नु परेको छ। “किसानलाई कहिले पानी आएर नोक्सान, कहिले नआएर नोक्सान बेहोर्नु परिराखेको छ”, उहाँले गुनासो गर्नुभयो।

रामपुर–१४ का एक दर्जन जति किसानका खेत कालीगण्डकी नदीले कटान गरेको स्थानीयवासी दामोदर तिमिल्सिनाले बताउनुभयो। रासस

You Might Also Like

0 comments